सम्पादक सापकोटाले प्रेमकथाहरुको संकलन तयार हुनुको पृष्ठभूमि खोतल्दै ‘पाण्डुलिपि’ पत्रिकाको प्रेम महाविशेषांकका लागि मागिएका र नयाँ कथाहरु समेत गरेर यो संग्रह आएको जानकारी गराए । ‘पाण्डुलिपि प्रकाशन बन्द भएपछि संकलित प्रेमकथाहरु थन्किएका थिए,’ उनले भने, ‘नयाँ पुस्ताका सक्रिय लेखकहरु समेत समेटेर यी कथाहरु ल्याएका हौं ।’
पुस्तक लोकार्पणपछिको प्रेम-बहसमा प्रेमको आयामबारे चर्चा गर्दै लेखक नारायण ढकालले पूर्वीय र पाश्चात्य सभ्यतामा प्रेमको परिभाषालाई पनि अलग तरिकाले हेर्ने गरिएको बताए । ‘मेरो पालामा प्रेम गर्नु अपराध जस्तै हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यस्तो बन्देज छैन । अझ महिलाहरुले प्रेमका लागि बढी स्पेस पाएका छन् ।’
ढकालको मतमा सहमति जनाउँदै प्रगति राईले महिलाले प्रेम गर्नका लागि स्पेस बढी पाए पनि समाज र संस्कृति अनुसार त्यसमा भिन्नता रहेको बताइन् । मुन्धुम संस्कृतिमा महिलाहरु नै घरव्यवहारमा अगुवा हुने र उनीहरुलाई प्रेम व्यवहार प्रदर्शन गर्न कठिन नहुने उनको भनाइ थियो । उनले पुस्तकको प्रसंग कोट्याउँदै भनिन्, ‘समाजमा प्रेमको परिभाषा अन्योलमा परेको बेला पर्फ्युमले विविध आयामलाई समेटेर प्रेममाथि बहस गर्ने ठाउँ बनाइदिएको छ ।’
सहजकर्ता घिमिरे युवराजले कथा छनोट गरेर प्रकाशन गर्दासम्म सम्पादकले पाउने जस/अपजसबारे सोधेको प्रश्नमा सम्पादक बानियाँले पुस्तक छापेर आइसकेपछि मात्रै मूल्याङ्कन हुने जवाफ दिए । ‘कतिपय ठाउँमा हामीले मित्रलाभ पनि गरेका हौंला,’ उनको भनाइ थियो, ‘तर धेरै कथाहरुबाट छानेर २४ वटामा ल्याउनु र फरक-फरक टेस्ट दिनु हामीलाई चुनौती नै थियो ।’
अर्का बहसकर्ता संगीत श्रोताले समाजलाई सकारात्मक दिशा दिन कुनै जोडीले गरेको काममा प्रेमको सच्चाइ भेटिने टिप्पणी गरे । युवायुवतीको आकर्षण र प्रेमालापलाई लिएर कथा लेखिनु मात्र प्रेमकथा नभएको भन्दै उनले थपे, ‘समाजलाई चुनौती दिने खालको काम कुनै प्रेमजोडीले गरेका छन् भने तिनको आदर्श प्रेमलाई पनि कथामा ल्याउन सकिन्छ ।’
संग्रहमा नयनराज पाण्डे, कुमार नगरकोटी, अमर न्यौपाने, नवीन विभास, मनिषा गौचन, , सुबिन भट्टराई, अभय श्रेष्ठ, उमा सुवेदी, मनोज दाहाल, अश्विनी कोइराला, ऋचा भट्टराई, निरुपा प्रसून, श्याम साहका कथा समावेश छन् । यसका साथै विनोदविक्रम केसी, लेनिन बञ्जाडे, दिनमान गुर्मछान, विमल आचार्य, अशोक सिलवाल, बच्चु विक, राजु स्याङ्तान, गणेशकुमार राई, मुनाराज शेर्मा, रिविन र योगेश ढकालका कथा पनि पढ्न पाइनेछ ।
पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
No comments:
Post a Comment